माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न
स्पर्श खबर जितपुर बारा असाेज २७ गते
आज नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ॐ शान्ति बाटिकाको सभाहल, पिलुवामा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क. क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को अध्यक्षतामा बसेको थियो।
बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू — क. गीता कडेल, क. सोनालाल साह, क. राजन पौडेल, क. भरत साह, तथा केन्द्रीय सल्लाहकार समिति सदस्य क. उद्वव पोखरेलको विशेष उपस्थिति रहेको थियो। त्यस्तै प्रदेश समिति सदस्यहरू क. हरि चौलागाईं, क. देवेन्द्र पराजुली, क. तपेश्वर चौधरी, क. रविराज दंगाल, र क. प्रभु यादव पनि बैठकमा सहभागी भएका थिए।
साथै केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य क. युवराज लामा, जिल्लाभरका सबै पालिका समितिका पदाधिकारीहरू, जबस मोर्चाका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला संयोजक तथा अध्यक्षहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा सहभागी सबै कमरेडहरूले आ–आफ्नो पालिकाको राजनीतिक तथा संगठनात्मक अवस्थाबारे विस्तृत रिपोर्ट पेश गरेका थिए। साथै, जेनजी आन्दोलनपछिको समग्र राजनीतिक परिस्थिति र जनस्तरमा देखिएका गतिविधिबारे समेत समीक्षा गरिएको थियो।
बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलन र जेनजी आन्दोलनका क्रममा शहीद भएका वीर कमरेडहरूको सम्झनामा एक मिनेट मौन श्रद्धाञ्जली अर्पण गरिएको थियो।
पार्टी केन्द्रबाट प्राप्त सर्कुलर पढेर सुनाइयो र त्यसका निर्देशनहरू कार्यान्वयन गर्ने निर्णय गरियो।
यहीँ कात्तिक १५ गतेभित्र सबै पालिका समितिहरूको बैठक सम्पन्न गर्ने निर्णय गरियो।
मंसिरमा हुन गइरहेको विशेष महाधिवेशनको तयारी गर्ने र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा मतदाता नामावली अध्यावधिकमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।
साथै, दिपावली, नेपाल संवत् ११४६ र छठ पर्वका अवसरमा पालिका स्तरमा शुभकामना कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकको समापन सत्रमा जिल्ला इन्चार्ज क. क्षेत्र बहादुर श्रेष्ठ (अनिल) ले सहभागीहरूले प्रस्तुत गरेका रिपोर्ट तथा प्रश्नहरूमा जवाफ दिँदै बैठक सफल र उद्देश्यपूर्ण बनेको उल्लेख गर्नुभयो। उहाँले बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरूलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक समापन घोषणा गर्नुभयो।


