स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:
मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको धारणा : “शिक्षित र विकसित मधेश हाम्रो लक्ष्य”
आजपा पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले आत्मनिर्णय अधिकारसहित शिक्षित र विकसित मधेश निर्माण गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्।
उनका अनुसार मधेशको विकासका लागि शिक्षा, रोजगार र सुशासनका क्षेत्रमा ठोस नीति आवश्यक रहेको छ। कुशवाहाले भने, “हामी भ्रष्टाचारमुक्त मधेश निर्माणका लागि अभियान चलाइरहेका छौं। जबसम्म प्रणाली पारदर्शी र जनउत्तरदायी बन्दैन, तबसम्म विकास सम्भव छैन।”
कुशवाहाले जनताको विश्वास जित्न स्वच्छ राजनीति र उत्तरदायी नेतृत्व अनिवार्य रहेको पनि बताएका छन्। उनले युवा र बुद्धिजीवी वर्गलाई देश र समाज परिवर्तनको अग्रपंक्तिमा उभिन आग्रह गर्दै भने, “शिक्षित मधेश नै सबल र समृद्ध मधेशको आधार हो।”
उनको भनाइ अनुसार आजपा पार्टीले मधेशमा सुशासन, शिक्षा सुधार र आर्थिक सशक्तिकरणका लागि दीर्घकालीन रणनीति अघि बढाइरहेको छ।


