प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
स्पर्श खबर जितपुर जेठ ४ गते:
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।
सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।
आज बस्ने बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
यता प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।