एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाइने

सेयर गर्नुहोस्

काठमाडौं,माघ १४-

नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको विधान हेरफेर गर्न परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव संकलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ । दुई दिनसम्म चल्ने बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।