स्पर्श खबर जितपुर बारा असोज २० गते
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई घोषित मितिमै आमनिर्वाचन गर्न आग्रह गरेका छन्। सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन ढिला गर्न नहुने स्पष्ट सन्देश दिएका हुन्।
प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ, त्यसका लागि सक्रियताका साथ हामी तयारीमा छौं। सबै राजनीतिक दल पनि निर्वाचनमा सहभागी हुनुपर्छ।”
उनले निर्वाचनको वातावरण बनाउन अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिए। “हामी निरन्तर संवादमा छौं, चाँडै यसको परिणाम देखिनेछ,” उनले भने।
बैठकले बाढीपहिरोले पुर्याएको क्षति, राहत वितरणको आवश्यकता र विचार मिल्ने दलहरूसँग एकता प्रक्रियाबारे पनि छलफल गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले अहिलेको सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन मिति यथावत राख्नुपर्ने र त्यसका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा जनाएको छ।


