प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

स्पर्श खबर जितपुर बारा असार २८ गते:

धारा ७६(२) अनुसार ११ पुस ०७९ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड पाँचौँपटक विश्वासको मत लिँदै, कांग्रेस–एमाले गठबन्धन बनेपछि गुमाइसकेका छन् बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नयाँ सत्तागठबन्धनसँगै एमालेले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक अधिकारअनुसार विश्वासको मत लिन थालेका हुन् । ११ पुस ०७९ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।

१९ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २१ असारमा संघीय संसद् सचिवालयलाई पत्र लेखेर विश्वासको मतको विषय शुक्रबार (२८ असार)को कार्यसूचीमा राखिदिन अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोधअनुसार कार्यसूची तय गरिएको जानकारी सभामुख देवराज घिमिरेले गराइसकेका छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नेछन् । प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ । छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूले धारणा राख्नेछन् । र, उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । 

विश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि सभामुखले प्रस्तावलाई निर्णय प्रक्रियामा लानेछन् । प्रधानमन्त्रीको प्रस्तावमा मतविभाजनबाट निर्णय हुनेछ । मतविभाजनबाट आएको परिणामको जानकारी संसद् सचिवालयले राष्ट्रपतिलाई दिनुपर्छ । यदि प्रधानमन्त्रीले विश्वासको मत नपाए राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको आह्वान गर्नेछन् । दलका नेताहरूका अनुसार नयाँ सरकारका लागि दाबी गर्दा संसदीय दलको निर्णयको पत्रमात्रै बुझाउने तथा संसदीय दलको पत्रसहित सांसदको हस्ताक्षर पनि बुझाउने दुईवटै अभ्यास छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा विश्वासको मत लिने कार्यतालिकाअनुसार त्यसको अघिल्लो दिनसम्म संसद्का धेरैजसो दल पक्ष–विपक्षमा खुलेका छन् । साना दल र स्वतन्त्र सांसदहरू भने बिहीबार रातिसम्म अनिर्णीत छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १४ राजनीतिक दल र दुई स्वतन्त्र सांसद छन् ।

बिहीबार रातिसम्मको अवस्थाअनुसार सरकारको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी ६३ सांसद देखिएका छन् । 

विश्वासको मतको विपक्षमा दुई सयभन्दा धेरै सांसद देखिएका छन् । सत्तासाझेदारीको सहमति गरेका कांग्रेस र एमालेले विश्वासको मतको विपक्षमा मतदानका लागि यसअघि नै विश्वासको मत नदिन ह्विप जारी गरिसकेका छन् । 

विपक्षमा कांग्रेसका ८८ र एमालेका ७९(एक निलम्बित)सहित एक सय ६७ छ । एमालेको संख्यामध्ये देवराज घिमिरे सभामुख रहेकाले उनले मत दिन पाउँदैनन् । एक निलम्बित टोपबहादुर रायमाझीको पनि मत आउनेछैन । त्यस्तै, एमाले सांसद वसन्त नेम्वाङ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सक्ने अवस्थामा छैनन् । नेम्वाङ मत हाल्न आउन सकेनन् भने कांग्रेस–एमालेको सांसद संख्या १६४ हुनेछ । 

चार सिट रहेको लोसपाले नयाँ समीकरणलाई समर्थन गर्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । राप्रपा, जसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि औपचारिक निर्णय लिइसकेका छन् । यस आधारमा राप्रपाको १४, जसपाको सात, जसपा नेपालको पाँच र लोसपाको चार, ६ सिट रहेको जनमत, चार सिटको नागरिक उन्मुक्ति थपिँदा विश्वासको मतको विपक्षमा दुई सय पाँच मत पुग्छ । 

संसद्मा एक–एक सिट रहेका जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र गरी पाँच सांसदले पक्ष वा विपक्षमा मतदानको निर्णय गरेका छैनन् । जनमोर्चा सांसद चित्रबहादुर केसीले समर्थनबारे शुक्रबार नै निर्णय लिने बताए । ‘शुक्रबार नै थाहा हुन्छ,’ केसीले भने । स्वतन्त्र सांसद अमरेश सिंहले भने आफ्नो मतबारे खुलाउन चाहेनन् । 

एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्णयमा पुग्न बाँकी दलहरू पनि विश्वासको मतको विपक्षमा उभिने तर्क गर्छन् । ‘राष्ट्रिय सहमतिको सरकार गठनका लागि योगदान गर्न आह्वान गरेका छौँ । अहिले सबै दल आन्तरिक छलफलमै हुनुहुन्छ होला । भोलि दाबी पेस गर्दासम्म कति दलको समर्थन हुन्छ, त्यति वेलै थाहा हुन्छ । तर, प्रधानमन्त्रीको नियुक्ति भएपछि पनि हामी फेरि औपचारिक आह्वान गर्छौँ र स्वागत गर्छौँ,’ उनले भने ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले बिहीबार संसदीय दलको बैठकबाट विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए । जसपा नेपालका प्रवक्ता मनीष सुमनले संसद् बैठकअघि बैठक बसेर विपक्षमा मतदानको निर्णय लिन लागिएको बताए । जनमतले पनि बिहीबार विश्वासको मत नदिने निर्णय लिएको हो । प्रवक्ता शरदसिंह यादवका अनुसार बिहीबार नै यसबारे निर्णय भएको हो । 

जसपा नेता प्रदीप यादवका अनुसार सो दलले राष्ट्रिय सहमतिको पक्षमा उभिने भन्दै कांग्रेस–एमाले गठबन्धनको पक्षमा उभिएको छ ।सभार नयाँ पत्रका । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लालवीर चौधरीका अनुसार बिहीबार नै समर्थन फिर्ता लिँदै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए ।