कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

काठमाडौ : नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने जनाएको छ।

कांग्रेसले देशको आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने उदेश्यले सानेपामा सम्मेलनको आयोजना गरिएको जनाएको छ। दुई दिने सम्मेलनको कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूको सहभागीता रहने आयोजकले जनाएको छ।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीहरूको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन्।

सम्मेलनमा ८० भन्दा बढि स्टल रहने र ६ हजारभन्दा बढी सहभागीहरु रहने आयोजकले जनाएको छ। सम्मेलनका क्रममा नवप्रवर्तन र उद्यमशीलता कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने कांग्रेसले जनाएको छ।सभार अन्पर्णा पाेष्ट। सम्मेलनबाट प्राप्त सुझावले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्ग निर्देशन गर्ने अपेक्षा कांग्रेसको विश्वास छ।