मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ।

राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले त्यसका लागि अदालतसँग समन्वय भइरहेको बताए। उनले मिटरव्याजमा आर्थिकमात्र नभएर गहिरो सामाजिक समस्याहरू पनि रहेको बताए।

‘मिटरव्याज पीडित, सहाकारी पडित र लघुवित्त पीडितका समस्याबारे सरकार जानकार छ। आयोग बनाएरै हामीले मिटरव्याज समस्या समाधान गर्न खोज्यौं। ऐन बनाएरै पनि कामहरू गरिरहेका छौं। तर, बाँकी समस्या सरकारको कारणभन्दा पनि अदालती प्रक्रियाबाट समाधान गर्ने प्रकृतिका छन्। मिटरव्याज समस्या अहिलेको समस्या पनि होइन रहेछ, धेरै पहिलेदेखि चलेको रहेछ। कागजपत्रले पीडितभन्दा पीडक बलियो देखिन आएका छन्। तसर्थ सरकारले गम्भीररूपमा यो विषयको गहिराईलाई अदालतसँग समन्वय गरिरहेको छ। पीडितसँग वार्ता पनि गरिरहेका छौं। वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने भनिरहेका छौं,’ प्रधानमन्त्रीले भने।