पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते :

पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् ।

प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन सफल भएका माधव बस्नेत होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सदस्य हुन् भने उनी पर्यटन व्यवसायी संघ पर्साका महासचिव समेत हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न उक्त पालिका भेलाले माधव बस्नेतको सभापतित्वमा ११ सदस्यीय पालिका समिति चयन गरेको छ । नवगठित समितिको उपसभापतिमा रामशरण लमिछाने , सचिवमा धन बहादुर श्रेष्ठ , कोषाध्यक्षमा रमा श्रेष्ठ चयन भएका छन् । प्रमोद रायमाझीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्त, पार्टीको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख राम सरार्फ, उप संयोजक तुलशा पौडेल , पूर्व संयोजक दिलिप कुर्मी , प्रदेश सदस्य सुदिश प्रजापती , पुरुषोत्तम देब उपाध्याय ,कामोध्या चौधरी , राम आचार्य , कृष्ण पासवान , सन्दीप पुरी लागायतको सहभागिता थियो ।