नेकपा एमालेको सचिवालय बैठक स्थगित

स्पर्श खबर जितपुर बारा असार २६ गते:

नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ। आज स्थगित गरिएको सचिवालय बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

एमाले बैठकमा काँग्रेससँग बन्न लागेको नयाँ सत्ता समीकरणको विषय, पार्टीको आन्तरिक कार्य विभाजनसहितका विषयमा छलफल गर्ने तयारी थियो।

असार १७ गते काँग्रेससँग भएको समझदारी अनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष प्रधानमन्त्री बन्नेछन्। त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी भएको छ। यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन्।