मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल

 मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल भएको छ ।

स्पर्श खबर जितपुर बारा जेठ ६ गते:

 

अल्पमतमा परेका सरोजकुमार यादव नेतृत्वको सरकार अझै केही दिन टिक्ने वाला संकेतहरु देखा परेका छन् ।
मधेश प्रदेशमा सत्ता साझेदार दलहरु बीच नयाँ सरकार बनाउने योजनालाई केही समयको लागि विश्राम दिएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल बिच नयाँ सरकारका लागि पहल गर्ने मोटामोटी सहमति भएको थियो ।
जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी समक्ष नाम प्रदेश सभा सदस्यहरूको नाम बुझाउने निर्णय दलहरूले गरेका थिए । तर अब केही समय त्यो प्रक्रिया अगाडि नबढाउने मुडमा माओवादी मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताए ।
उनले भने, ‘प्रदेश स्तरमा हामी बिच सबै कुरा मिलिसकेको छ, प्रक्रिया अगाडि बढाउने कुरा पनि तय भइसकेको थियो । तर केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेको कारण हाललाई सो प्रक्रिया स्थगित गरिएका हौं ।’ अहिले प्रक्रिया सुरु गरे पनि मुख्यमन्त्री यादवलाई हटाउन सकिँदैन । उनले संसदमा बहुमत सिद्ध गर्न अझै समयमा बाँकी रहेको छ । उनले बहुमत सिद्ध नगरेमा मात्रै अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।माओवादी केन्द्र र नेकपा (एमाले) ले वैशाख ३० गते मधेस सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हालसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले दलहरूको बिचमा छलफल गरिरहेका छन् ।
अहिलेको जसपा नेपाल नेतृत्वको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले साथ दिइरहेको छ । साहले जस्तै जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेशमा दलहरूको बिचमा सहमति भए पनि केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेकाले अहिलेलाई नयाँ सरकार गठन प्रक्रिया स्थगित गरिएको बताइएको छ ।
पाँच दलको बिचमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको बताउँदै उनले आफूहरूले केन्द्रको निर्णयको प्रतिक्षमा रहेको जानकारी दिए । मधेस प्रदेशमा एमालेको २५, काँग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९, नेकपा (एकीकृत समाजवादी) को ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक गरी १०७ सांसद सांसद छन् ।
सरकार बनाउनका लागि सामान्य बहुमत ५४ जना सांसद चाहिन्छ । अहिले जनमतको नेतृत्वमा सरकार बनाउने पक्षमा ६२ जना सांसद छन् । माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी), जनमत र लोसपाको बिचमा सहमति भएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) ले हालसम्म जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैनन ।
यस्तै लोसपाका नेताहरूले समेत नयाँ सरकार गठनका लागि आफूहरूसँग कुनै छलफल नगरेको बताए ।