केपी ओलीले भने: एमाले २०८४ मा एक्लै बहुमत ल्याउने मिसनमा छ

सेयर गर्नुहोस्

काठमाडौँ, असार २६

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने खेलमा सहभागी नहुने बताए ।

ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दोहो¥याए । उनले सरकार र सत्तारुढ दलहरुले झुट बोल्नेबाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए ।

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । उनले सो विधेयक समयमा संसद्मा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत दाबी गरे ।