जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

 

स्पर्श खबर जितपुर बारा जेठ १८ गते:

जनमतका उम्मेदवारलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि जनमतका अध्यक्ष सिके राउत, संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, माओवादीका भरतप्रसाद साह, जनमतका महेशप्रसाद यादवसहितका नेताहरू । 

 

मधेशमा नयाँ सरकारको गृहकार्य

जसपा नेपालको सरकार अल्पमतमा परेसँगै मधेशमा नयाँ सरकार गठनको दौडधुप जारी छ । बुधबार विपक्षी दलहरूले सम्भावित समीकरणका लागि वार्ता गरेको अर्को दिन एमाले र माओवादी मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएका छन् । मधेशमा लोसपा र एकीकृत समाजवादी निर्णायक शक्तिका रूपमा देखिएका छन् ।

सरकारको नेतृत्वको दाबी गरिरहेको मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले लचिलो बनेपछि जनमतले सत्ता हाँक्ने गरी सत्तागठबन्धनका तीन दलबीच बिहीबार सहमति भएको हो । तर, उनीहरूसँग बहुमतको अंक भने अझै पुगेको छैन । मधेशमा जसपा नेपालको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले यसअघि नै फिर्ता लिएका थिए । यसअनुसार मधेश सरकारले ३० जेठभित्र विश्वासको मत लिनुपर्नेछ ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले लोसपा र एकीकृत समाजवादीलाई पनि साथमा लिएर नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । एमाले २५, जनमत १३ र माओवादीसँग नौ गरी ४७ मत छ । बहुमतका लागि थप सात सांसद चाहिन्छन् । त्यसमा लोसपाले (आठ) मात्र साथ दिँदा ५५ मत पुग्छ । एकीकृत समाजवादीसँग पनि सात सिट छ ।

संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका साहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘प्रदेशमा रहेका भ्रष्टाचार प्रवृत्तिलाई हटाउन तथा प्रदेशको आर्थिक वृद्धि उच्च बनाउन नयाँ सरकारको आवश्यकता रहेको’ सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा, एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच बुधबार मात्र मधेश सरकार गठनको विषयमा छलफल भएको थियो । उनीहरूबीच कुरा नमिलेपछि एमाले, माओवादी र जनमतको रणनीति पुनः सफल हुने अवस्थामा पुगेको माओवादीका एक सांसदले दाबी गरे ।

बुधबारको बैठकमा उपेन्द्रले आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएका थिए । मधेश सरकार निरन्तरताका लागि दलहरूबीच नयाँ सिरामा सहमति हुनुपर्ने र त्यसका लागि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ठाकुरको सर्त थियो । लोसपाका एक सांसदले भने, ‘तर, ठाकुरजीको प्रस्तावमा उपेन्द्रजी सहमत हुनुभएन । पछि ठाकुरजी बैठकबीचमै छोडेर हिँड्नुभयो । बुधबार साँझ नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर मधेशमा नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।’ उनका अनुसार ठाकुरले बैठक छोडेर हिँडेलगत्तै माधव नेपाल पनि बैठक छोडेर हिँडेका थिए ।

अंकगणितका आधारमा कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको सात र लोसपाको आठ गरी ५६ सांसद पुग्छन् । सभार नयाँ पत्रका ।यस आधारमा कांग्रेसले सरकार गठनको सम्भावनाबारे छलफल थालेको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल साढे ६ वर्षपछि मधेश सरकारको नेतृत्व गुमाउने अवस्थामा पुगेको छ । तत्कालीन सत्तासाझेदार माओवादी ३० वैशाखमा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोज यादवले अल्पमतको सरकार चलाइरहेका छन् ।

पछिल्लोपटक जसपा नेपालका वरिष्ठ नेता अशोक राईले पार्टी फुटाएपछि जनमतले मधेशमा नेतृत्वका लागि बार्गेनिङ बढाएको हो । मुख्यमन्त्री दिन गठबन्धन सकारात्मक भएपछि जनमतले जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । सोही सहमतिअनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेको हो । तर, जेठभर मुख्यमन्त्री यादवले अल्पमतको सरकार चलाउन पाउनेछन् ।

यादवले २१ जेठबाट बजेट अधिवेशन सुरु गरेर २३ जेठमा विश्वासको मत लिने घोषणा गरेका थिए । सोहीअनुसार जसपाले कांग्रेस, लोसपा र एकीकृत समाजवादीसँग छलफल अगाडि बढाएको थियो ।