भारतीय ट्रकको दबदबा बढेपछि नेपाली ट्रक व्यवसाय संकटमा

भारतीय ट्रकको दबदबा बढेपछि नेपाली ट्रक व्यवसाय संकटमा

मनाेज शाह जितपुर बारा मंसिर २३ गते:

नेपाल युनियन ट्रक चालकका महासचिव सन्तोष कार्कीले भारतीय ट्रकहरूको अनियन्त्रित प्रवेशले देशभरको नेपाली ट्रक यातायात व्यवसाय धरापमा परिरहेको बताएका छन्। उनका अनुसार राजतन्त्रको समयमा भारतीय ‘गारु’ प्रणालीका कारण भारतीय ट्रकहरू नाकामै रोकिन्थे । त्यतिबेला नेपालमा आउने सामान नाकामै अनलोड–लोड हुने भएकाले नेपाली ट्रक, चालक तथा सहचालकलाई पर्याप्त रोजगार मिल्थ्यो।

तर हाल भारतीय ट्रकहरू सुनसरीदेखि कञ्चनपुर, पहाडदेखि हिमालसम्म — ७७ वटै जिल्लामा freely चलिरहेका कारण नेपाली ट्रक सञ्चालक, चालक तथा युवाहरू बेरोजगार हुने अवस्था आएको कार्कीले चिन्ता व्यक्त गरे। “नेपाली व्यवसायीको रोजगारी खोसिँदै छ, सरकारी निगरानी शून्य छ,” उनले भने।

यस्तै, ट्रक मधुर युनियनका अध्यक्ष नवीन श्रेष्ठले यो समस्याको तत्काल समाधान नभए आन्दोलन चर्काउने चेतावनी दिए। “हामी देशभर संगठन विस्तार गर्दैछौं। आवश्यक परे सरकारलाई चुनौती दिन पछि हट्दैनौं,” श्रेष्ठले बताए।

उनका अनुसार भारतीय ट्रकहरूलाई नाकामै रोक्नुपर्ने, कडाइका साथ चेकजाँच गर्नुपर्ने र नेपालभित्र निर्बाध घुमफिरमा रोक लगाइनुपर्ने माग युनियनहरूले राख्दै आएका छन्।

यातायात व्यवसायीहरूले सरकारसँग तत्काल निर्णय लिएर नेपाली ट्रक व्यवसायको संरक्षण गर्न आग्रह गरेका छन्।