बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति

बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:

सिमरामा मंसिर ३ र ४ गते भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई उचित व्यवस्था मिलाउन आग्रह गरेका छन्।

श्रेष्ठले पार्टी कार्यका सिलसिलामा काठमाडौंमा रहेको अवसर छोपेर मंसिर ६ गते विहान करिब ११ बजे आफूको जितपुर सिमरा–४ औराहा स्थित घरमा ’जेन जी’ का कथित नेता भएको दाबी गर्दै सुदन गुरुङ प्रवेश गरेको र लुटपाट तथा गुण्डागर्दी शैलीमा धम्की दिएको आरोप लगाएका छन्। २४ गते जलाईएको घर पुनर्निर्माण गरिरहेका कामदारलाई गुरुङले धम्क्याएको र “तेरो नेता लाई जे पनि हुन सक्छ” भन्दै किसान श्रेष्ठ र उनको परिवारप्रति समेत धम्की दिएको श्रेष्ठको आरोप छ।

श्रेष्ठले जेनजीका नाममा भैरहेको ‘आतंक’ तुरुन्त रोक्न तथा स्थानीयवासीलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार र स्थानीय सरकारसँग तत्काल हस्तक्षेपको माग समेत गरेका छन्।