बारामा बिजुली सर्ट भएर आगलागी, किराना पसल पूरै नष्ट
सिकिन्द्र साह सिम्राैनगढ मंसिर ६ गते:
बारा जिल्ला, सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटामा गएराति भएको आगलागीमा उमेश ठाकुरको किराना पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ।
स्थानियका अनुसार राति करिब १२ बजे बिजुलीको तार सर्ट भएर आगो लागेको हो। आगलागीमा पसलभित्र रहेका फ्रिज, साबुन, दाल, चामल तथा अन्य किराना सामग्री सबै खरानी भएका छन्। क्षति लाखौँ रुपैयाँ बराबर रहेको अनुमान छ।
स्थानिय शनि यादवका अनुसार आगो लागेपछि नगरपालिकाको दमकललाई पटक–पटक खबर गरिए पनि समयमै नआएकाले सम्पूर्ण पसल जलेर नष्ट भएको हो।
यसअघि पनि सोही नगरपालिका–१० का रामएकवाल यादवको घरमा आगलागी हुँदा दमकल ढिलो पुगेको कारण घर जलेर नष्ट भएको थियो। दमकल सञ्चालनमा देखिने निरन्तर ढिलाइप्रति स्थानीयवासी आक्रोशित छन्।
पसलका मालिक उमेश ठाकुरले भने, “सिम्रौनगढमा जनप्रतिनिधिको लापरवाहीका कारण सामान्य जनजीवन नै पिडामा परेको छ।”
उनी साना किसान कृषि सहकारीबाट ऋण लिएर किराना पसल सञ्चालन गर्दै आएका थिए। उनका अनुसार पुरानो बिजुलीको तार पोलमै चुँडिएर पसलमा खसेपछि आगलागी भएको हो। तार मर्मत–सम्भार समयमा नगर्दा आफू पूर्णरूपमा विस्थापित भएको उनले गुनासो गरे।


