जितपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधि–बैंक मिलेमतोको आरोप, गरिब नागरिक निलामी प्रक्रियाबाट पीडित
स्पर्श खबर जितपुर बारा मंसिर २ गते:
जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विशेषगरी वडाध्यक्षहरू स्थानीय बैंकहरूसँग मिलेमतो गरी गरिब तथा निम्न आयस्रोतका नागरिकको घर–जग्गा निलामी प्रक्रियामा लगाइरहेको आरोप सार्वजनिक भएको छ।
स्थानीय पीडितका अनुसार वडामा आर्थिक समस्यामा परेका नागरिकको जग्गा जोगाउन सहयोग गर्नुपर्ने ठाउँमा उल्टै वडाध्यक्षहरू नै बैंकहरूसँग समन्वय गरी निलामी प्रक्रियालाई सहज बनाइदिएको दाबी गरिएको छ। “हामी समस्या लिएर वडामा जाँदा उल्टै निलामीको दबाबमा परिरहेका छौँ। वडाध्यक्षकै कारण धेरै परिवार विस्थापनको जोखिममा पुगेका छन्,” एक पीडित स्थानीयले नाम नखुलेको शर्तमा बताए।
स्थानीय बासिन्दाहरूले यो स्थिति लामो समयदेखि चलिरहेको र उपमहानगरपालिकाका अधिकांश वडाध्यक्षहरू यस्तै गतिविधिमा संलग्न रहेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा, आर्थिक रुपमा कमजोर परिवारलाई राहत, परामर्श वा समाधान दिनुपर्ने ठाउँमा जनप्रतिनिधि नै जग्गा दलालीमा सक्रिय देखिनु अत्यन्त चिन्ताजनक छ।
यसबारे उपमहानगरपालिकाले औपचारिक प्रतिक्रिया नदिएको र कुनै छानबिन प्रक्रिया सुरु भएको जानकारी सार्वजनिक नगरिएको जनाइएको छ। पीडितहरू यस विषयमा उच्च निकायको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै आएका छन्।
स्थानीयवासीहरूले यस्ता क्रियाकलाप तत्काल रोक्न सम्बन्धित निकायसँग कडा कदम चाल्न आग्रह गरेका छन्।


