चिया र चुरोट : संस्कार कि विकृति ? — दीपिका शाहको प्रश्नले समाजमा बहस
स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते:
समाजमा सामान्य रूपमा लिइने “चिया र चुरोट” को प्रयोग अब बहसको विषय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा दीपिका शाहले लेखेकी एक विचारात्मक पोस्ट — “चिया र चुरोट संस्कार हो कि विकृति ?” — सार्वजनिक भएपछि धेरैले यसमा आफ्नो धारणा व्यक्त गरेका छन्।
शाहले लेखेकी छन्, “हामी बिहान उठ्नेबित्तिकै चिया र चुरोट खोज्छौं, त्यसलाई जीवनशैली मानेर गर्व गर्छौं, तर के यो संस्कार हो ? कि शरीर र समाज दुबैलाई कमजोर बनाउने विकृति ?”
उनको यस पोस्टमा सयौँ प्रतिकृया आएका छन्। कतिपयले चिया–चुरोटलाई “सामाजिक चलन र समयको माग” भनेका छन् भने धेरैले यसलाई “आदत र विकृति” का रूपमा लिएका छन्।
सामाजिक सञ्जालमा यस विषयले खैलाबैला मच्चाएको छ। स्वास्थ्यकर्मीहरूले पनि यस बहसमा जोड्दै चुरोटको सेवन पूर्ण रूपमा हानिकारक रहेको बताउँदै चेतावनी दिएका छन् भने अत्यधिक चिया सेवन पनि स्वास्थ्यका लागि राम्रो नभएको जनाएका छन्।
दीपिका शाहले अन्त्यमा लेखेकी छन्, “संस्कार त्यही हो जसले समाजलाई उचाइमा पुर्याउँछ, र विकृति त्यही जसले समाजलाई तल धकेल्छ।”
उनको सो पोस्टले अहिले सामाजिक सञ्जालमा “संस्कार र विकृति” बीचको रेखा के हो भन्ने नयाँ विमर्श जन्माएको छ।


