मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो

oplus_16

मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो

मनाेज शाह जितपुर, बारा कात्तिक ८ गते:

छठ पर्वको माहौलसँगै मधेश प्रदेशमा अब राजनीतिक तापक्रम पनि बढेको छ। असोज २९ गते मुख्यमन्त्री बनेका जसपा नेपालका जितेन्द्र प्रसाद सोनलले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएपछि सत्ता पक्षदेखि प्रतिपक्ष दलहरूसम्म सक्रियता तीव्र भएको हो।

मुख्यमन्त्री सोनलले छठ उत्सव सकिएलगत्तै विश्वासको मत लिने तयारीलाई अन्तिम रुप दिइरहेको उनको सचिवालयले जनाएको छ। यसैक्रममा दलहरूबीच भेटघाट र संवाद तीव्र भइरहेका छन्।

प्रदेशमा १० दल प्रतिनिधित्वरत छन्। त्यसमध्ये नेकपा एमाले, नेपाली कांग्रेसलगायत पाँच दलले अहिलेसम्म सरकारलाई समर्थन नदिइरहेको स्थिति छ। सरकार गठनमा साथ दिएको जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको कुल संख्या ५७ छ।

जसपामा १९, जनमतमा 13, माओवादीमा 10, लोसपामा 9 र एकीकृत समाजवादीमा 7 जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार टिकाउन ५४ मत आवश्यक पर्छ।

यद्यपि जनमत पार्टीका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन शाहले जनमतबाट अलग भएर जनसराज पार्टीमा प्रवेश गरे पनि निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतमा स्थगित भएकोले उनीहरू हाललाई जनमतकै सूचिमा छन्। सोही दुई सांसदले मत नदिए सरकारको मत संख्या ५४ मै झर्ने आँकलन गरिन्छ। जसले विश्वासको मत प्रक्रियामा चुनौती बढाउन सक्छ।

जसपा नेपालका एक सांसद सरोज सिंह कुशवाहा भने निलम्बनमा रहेका कारण विश्वासको मतमा सहभागी हुन पाउने छैनन्।

यता मुख्यमन्त्री सोनलले विश्वासको मतमा कुनै जटिलता नआउने दाबी गरेका छन्। उनले भने, “सबै कुरा सकारात्मक छ। विश्वासको मतमा कुनै समस्या हुँदैन।”

छठपछि हुने विश्वासको मत प्रक्रिया प्रदेश सरकारको भविष्य निर्धारण गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।