वीरगन्जमा उद्योगमाथि आक्रोश: छठ नजिकिँदै स्थानीय द्वारा मोसो प्रहार
स्पर्श खबर जितपुर बारा कार्तिक ७ गते:
छठ पर्वको तयारीसँगै वातावरणीय प्रदूषणप्रति स्थानीयको रोष सतहमा आएको छ।म्याक्सअयल इन्टरनेसनल प्रा.लि.. द्वारा खोलामा फोहोर पानी बिर्सजन गरेकाले स्थानीयवासी आक्रोशित बनेका छन्।
शुक्रबार करिब ३०–४० जनाको समूह उद्योग परिसरमा प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि कालो मोसो प्रहार गरेको हो। तिवारीले आँखामा समेत समस्या आएको जनाएका छन्। स्थानीयहरूले यसअघि पनि पटक–पटक चेतावनी दिएर पनि उद्योगले अटेर गरेको आरोप लगाएका छन्।
वार्ड अध्यक्ष रेयाज ठाकुरका अनुसार छठ पर्वलाई लक्षित गरी प्रदूषण नियन्त्रणका लागि उद्योगलाई निवेदन र सूचना दिइँदै आएको थियो। उनका अनुसार अहिले उद्योग प्रशासनसँग तीन बुँदे सहमति भएको छ।
– खोला सरसफाई गर्ने
– उद्योगको उत्पादन बन्द गर्नु
– फोहोर पानी खोलामा नफ्याल्ने
स्थानीय युवाहरूले उद्योगहरू दादागिरीको भरमा जनप्रतिनिधिलाई महिनावारी सुविधा दिएर गाउँको स्वास्थ्यमा खेलबाड गर्ने गरेको आरोप पनि लगाएका छन्। उनीहरूको भनाइमा उद्योगले उत्पादन गर्ने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन नदीमा बगाइँदा स्वास्थ्यमा गम्भीर असर देखिन थालेको छ।
अर्कोतर्फ, उद्योग प्रशासन प्रतिनिधि काशीनाथ तिवारीले आक्रमणको घटनाबाट आफू त्रसित रहेको बताउँदै, यस्तो हिंसात्मक व्यवहार समाधानको बाटो नभएको प्रतिक्रिया दिएका छन्।
प्रहरी घटनास्थल पुगेपछि स्थिति नियन्त्रणमा आएको छ। प्रहरीले घटनामा संलग्नहरू पहिचान गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।


