जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल
स्पर्श खबर, जितपुर बारा — असोज २१ गते
हालैको अविरल वर्षाका कारण देशभरै जनधनको ठूलो क्षति भएको छ। सोही सन्दर्भमा मधेश प्रदेशका पूर्वमन्त्री तथा सांसद जितेन्द्र प्रसाद सोनलले आफ्नो निर्वाचन क्षेत्र बारा–४ ‘ख’ का विभिन्न बाढीपीडित स्थानहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
सोनलले विशेषगरी फेटा गाउँपालिका–१ ऐकवनिया भलुही जोड्ने बङरी नदीमाथिको फलामे पुल बाढीका कारण भत्किएपछि उक्त स्थलमा पुगेर क्षतिको अवलोकन गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले सम्बन्धित निकायहरूलाई क्षतिग्रस्त संरचना छिटो मर्मत र पुनर्निर्माण गर्न तत्काल पहल गर्न निर्देशन दिनुभएको बताइएको छ।
स्थल निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरू मदन साह, जयप्रकाश दास, बाबुलाल कुशवाहा, महेन्द्र दास लगायतका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सोनलले बाढीले प्रभावित जनतालाई राहत र पुनःस्थापनाका लागि प्रदेश र संघीय तहमा समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।


