जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक

स्पर्श खबर जितपुर (बारा), भदौ ३१
जेन–जी आन्दोलनका कारण केही दिनदेखि शिथिल बनेको जितपुर बजारमा विश्वकर्मा पूजाले पुनः रौनक थपिएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजारमा विगतका दिनभन्दा आज उल्लेख्य चहलपहल देखिएको छ ।

भोलि असोज १ गते पर्न आउने विश्वकर्मा पूजालाई लक्षित गर्दै बजारमा ग्राहकहरूको भीड बढेको व्यापारीहरूले जनाएका छन् । विशेषगरी मेसिनरी उपकरण, निर्माण सामग्री, कपडा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न आउनेको संख्या बढेसँगै स्थानीय व्यापारीहरूमा उत्साह छाएको छ ।

विश्वकर्मा पूजा प्रविधि र मेसिनरीको आराधना गरी भगवान विश्वकर्मालाई सम्झिने दिनका रूपमा मनाइन्छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसका रूपमा मनाउने गरिन्छ भने भारतमा समेत यस दिनलाई कारखाना, उद्योग तथा श्रमिक वर्गको पर्वका रूपमा विशेष महत्त्व दिइन्छ ।

बजारमा सजावट, पूजाका सामग्री खरिद, विभिन्न मेला–मेलाप्रति आकर्षणले यहाँको वातावरण चहकिलो बनेको छ । अघिल्लो सातादेखि आन्दोलनका कारण प्रभावित बनेको आर्थिक गतिविधि पूजाको अवसरले पुनः सक्रिय बनेको स्थानीय व्यापारीहरूको धारणा छ ।

साथै, स्थानीय स्तरमा आयोजित मेला तथा पूजाले सामाजिक मेलमिलाप र धार्मिक सद्भाव बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।