नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको पनि बताउनुभयो । उहाँले सरकारको कामलाई व्यवस्थित गर्नका लागि आफूहरुले कार्यदल बनाएर न्युनतम साझा कार्यक्रम तयारीको कामलाई अघि बढाएको पनि बताउनुभयो ।

फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने पनि बताउनुभयो ।