बाराको जीतपुरमा हर्षोल्लासका साथ बलभद्र पूजा मनाइयो

बाराको जीतपुरमा हर्षोल्लासका साथ बलभद्र पूजा मनाइयो

रन्जित कुमार चौधरी, जीतपुर बारा, भदौ २८

प्रत्येक वर्षझैं यस वर्ष पनि कलवार कल्याण समिति परिवार जितपुर बाराले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुरमा हर्षोल्लासका साथ बलभद्र जयन्ती मनाएका छन्।

प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन मनाइने बलभद्र जयन्ती बडो श्रद्धापूर्वक यहाँका कलवार समुदायका मानिसहरुले आज शुक्रबारका दिन मनाएका हुन् ।

कलवार समुदायले आफ्नो कुल देवताको रुपमा पुजाअर्चना गर्ने बलभद्र भगवानलाई श्री कृष्ण भगवानको दाजु बलरामकै स्वरुप मानी सामूहिक पुजा गर्ने गर्दछन् । ‘बलभद्र’ शब्दमा रहेको ‘बल’लाई शक्ति तथा ‘भद्र’लाई अन्नको रुपमा मानेर परम्परागत रीतिरिवाज अनुसार कलवार समुदायले यस दिन बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल एवम् पाँच थरीका तरकारीको भोग चढाई शुद्ध मनले पुजा गर्नुको साथै पुजा पश्चात सम्पूर्ण भक्तजनले सोही अन्न प्रसादको रुपमा ग्रहण गर्दछन् ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जितपुरमा वर्षौंदेखि मनाइँदै आएको बलभद्र जयन्तीको अवसरमा यस वर्षसमेत समग्र जीतपुर क्षेत्रकै कलवार समुदायको प्रत्यक्ष सक्रियता देखिएको थियो । कलवार समुदायका भक्तजनद्वारा ठूलो सङ्ख्यामा जनसहभागिता जनाई आज बिहान जीतपुरमा शोभा यात्रासमेत निकालिएको थियो । घोडा, बाजागाजा तथा झाँकीसहित निकालिएको उक्त शोभा यात्राले जीतपुर क्षेत्रको परिक्रमा गरेको थियो भने भगवान बलभद्रको पुजा आराधनापश्चात प्रसाद वितरण तथा दिवाभोजको समेत व्यवस्था गरिएको कलवार कल्याण समिति परिवार जितपुर बाराका अध्यक्ष कन्हैया प्रसाद गुप्ताले स्पर्श खबरलाई जानकारी दिनुभयो । बलभद्र पुजाको अवसरमा बेलुकाको समयमा भजनकीर्तन तथा साँस्कृतिक झाँकीको समेत व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

भलभद्र जयन्तीमा सामूहिकरुपमा सहभागी भई पूर्ण आस्था एवम् श्रद्धाका साथ पुजापाठ गरिने भएकाले यस पुजाले कलवार समुदायका सदस्यहरुबीच एकता, भाइचारा, सौहार्दता, घनिष्ठता एवम सामाजिक सद्भाव कायम गर्न मदत गरेको कलवार समुदायका अगुवा श्री शुभनारायण प्रसाद गुप्ता कलवारले स्पर्श खबरलाई बताउनुभयो ।