बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना स्वीकृत गरिएको जानकारी दिए । स्वीकृत आवधिक योजना आगामी आर्थिक वर्षदेखि लागू हुने मन्त्री श्रेष्ठले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति, २०८१ समेत स्वीकृत गरेको छ भने आयुर्वेदिक औषधि उत्पादन संहिता तथा आयुर्वेद औषधिको लेबल स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण अध्ययन गर्ने मन्त्रिपरिषद्को निर्णय

यस्तै, बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय पनि गरेको छ । पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबीच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सभार नयाँ पत्रिका ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको हेटौँडा, बकैया वा मनहरीसहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाका लागि अध्ययन गर्ने बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकको निर्णयअनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहेको बताए । विभिन्न राजनीतिक दलहरूको मागअनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उनको दाबी छ ।

ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यावहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्ने गरी सरकार अघि बढेको उनले बताए ।