छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

मनाेज शाह जितपुर बारा फागुन २ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ अन्तर्गत जितपुरको मुख्य सडक तथा बजार क्षेत्रमा छाडा पशुवस्तुको बिगबिगीले गर्दा स्थानीय बासिन्दा, व्यापारी , ग्राहक लगायत आवतजावत गर्ने पैदल यात्री तथा यातायातका साधनहरुसमेतले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् ।सडक दुर्घटना हुने विभिन्न कारणहरुमध्ये जथाभावी सडकमा भेटिने छाडा चौपाया पनि एक हो । छाडा चौपायाको बढ्दो सङ्ख्या तथा यसको व्यवस्थापन पक्ष फितलो बन्दा मुख्य सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

दुध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले सडक दुर्घटना जस्तो विकराल समस्या बढाएको हो ।बाराको जीतपुरसिमरा उपमहानगरको जीतपुर चौकमा जुनसुकै बेला पनि छाडा चौपायाहरु सडकभरि देख्न सकिन्छ । यी चौपायाहरुकै कारण बाटो काट्दा दुर्घटना हुने जोखिम बढेको स्थानीयहरू बताउँछन् ।

सडक र बजारक्षेत्रमा छाडा रुपमा छोडिएका चौपायाहरुको व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैंले सचेतता देखाउनु राम्रो विकल्प हुने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा गाई धनीलाई बोलाएर सम्झाउने र नमानेको खण्डमा छाडा रुपमा सडकमा घुम्ने पशु चौपायलाई नियन्त्रणमा लिने उपमहानगरले जनाएको छ ।

जथाभावी बालीनाली नोक्सान गर्ने चौपाया तथा बजार एवम् सडक क्षेत्रमा छाडा छाडिएका चौपायाहरुलाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट असुल गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि सम्बन्धित निकायबाट अहिलेसम्म कुनै ठोस कदम चालिएको देखिँदैन ।