जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए

जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए

मनोज शाह जितपुर बारा फागुन ४ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको २४औँ स्थापना दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एल एस न्युरो जेनेरल हस्पिटलका डाइरेक्टर साबित्रा भण्डारी सहभागी हुनुहुन्थ्यो। सो अवसरमा उहाँले “हामी जहाँ सक्दो निःशुल्क सेवा दिने र समाजका लागि अग्रसर भएर काम गर्नेछौँ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंक सिमरा शाखाका प्रमुख बिलबर राजबन्शी रहनुभएको थियो। संस्थाका तर्फबाट गणेशप्रसाद शाह कलवारले सहकारीले हरेक वर्ष सामाजिक दायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।


स्वास्थ्य शिविरबाट करिब ३१० जना शेयर सदस्य तथा नगरबासीहरूले सेवा लिएका थिए। कार्यक्रममा नगरबासी, शेयर सदस्यहरू तथा सहयोगी अस्पतालका टोलीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका सह–प्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो। निःशुल्क स्वास्थ्य जाँच गराएकी उर्मिला देवीले “यो संस्थाले हरेक वर्ष जनताको र आफ्ना शेयर सदस्यको हितमा केही न केही गरिरहेकाले हामी अत्यन्तै आभारी छौँ” भन्दै धन्यवाद व्यक्त गर्नुभयो।