बारा–४ मा मजदुरको हक–हितका लागि बोल्ने नेतृत्वको माग तीव्र
स्पर्श खबर जितपुर बारा फागुन २ गते:
बारा जिल्ला क्षेत्र नम्बर ४ मा मजदुरको वास्तविक हक–हितका लागि आवाज उठाउने जिम्मेवार नेतृत्व आवश्यक रहेको माग सार्वजनिक भएको छ। स्थानीय समाजसेवी मनोजपुरी ले आफ्नो आधिकारिक Facebook मार्फत विचार सार्वजनिक गर्दै बेरोजगारी भत्ताभन्दा पनि नेपाल सरकारले तोकेको न्यूनतम ज्याला मजदुरले पाउनुपर्नेमा जोड दिएका छन्।

उनले लेखेका छन्, “मजदुरलाई भत्ताको आश्वासन होइन, श्रमको सम्मान र कानुनअनुसारको ज्याला चाहिन्छ।” हाल धेरै मजदुर न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य रहेको उल्लेख गर्दै उनले राज्यले तोकेको ज्याला कार्यान्वयन गराउन राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन्।
मनोजपुरीका अनुसार रोजगारी सिर्जना, सुरक्षित कामको वातावरण, समयमै ज्याला भुक्तानी र श्रमिक अधिकारको कडाइका साथ कार्यान्वयन नै मजदुरको जीवनस्तर सुधार्ने मुख्य उपाय हुन्। उनले बारा–४ का मतदाता र सरोकारवालालाई मजदुरमैत्री नीति र व्यवहार देखाउने नेतृत्व चयन गर्न आग्रह पनि गरेका छन्।
उनको यो अभिव्यक्तिले स्थानीयस्तरमा मजदुर अधिकार, न्यूनतम ज्याला र रोजगार सुरक्षाबारे पुनः बहस सुरु गराएको छ।


