जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु
मनाेज शाह जितपुर बारा माघ २२ गते:
बारा जिल्लाको जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा आयोजना गरिएको SEE Qualified Coloring परीक्षा २०८२ सुरु भएको छ। जितपुरमा रहेको एम्ब्रोल एकेडेमी लाई परीक्षा केन्द्र बनाई परीक्षा सञ्चालन गरिएको हो।
यस परीक्षामा करिब ११५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। एम्ब्रोल एकेडेमी केन्द्रमा हेमरोल एकेडेमी जितपुर, अम्ब्रेला एकेडेमी जितपुर, केयरभिजन स्कुल जितपुर, जीवन ज्योति स्कुल जितपुर, होलीराज स्कुल जितपुर, सरस्वती स्कुल परानीपुर, पब्लिक हेरिटेज स्कुल परानीपुर लगायतका विद्यालयका विद्यार्थीहरू सहभागी छन्।
त्यस्तैगरी, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुर स्थित एवरग्रीन स्कुल लाई पनि परीक्षा केन्द्र बनाइएको छ। यस केन्द्रमा जितपुर पब्लिक स्कुल, एवरग्रीन स्कुल जितपुर तथा स्मारक स्कुल जितपुरका विद्यार्थीहरूले परीक्षा दिएका छन्।
परीक्षाको अनुगमन एन प्याप्सन जितपुर सिम्रा नगर अध्यक्ष अनिल तिवारी तथा एन प्याप्सन बारा जिल्ला कार्यसमिति उपाध्यक्ष सुबोध कुमार गुप्ता ले गर्नुभएको थियो। साथै, एवरग्रीन स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद कडेल लगायतले परीक्षा सञ्चालनमा आवश्यक निर्देशन दिनुभएको थियो।
यस अवसरमा नगर अध्यक्ष अनिल तिवारी ले भन्नुभयो,
“यो परीक्षा एसईई परीक्षाकै मोडलमा सञ्चालन गरिएको हो, ताकि विद्यार्थीहरू परीक्षाको वातावरणसँग अभ्यस्त होउन् र डर वा तनाव नहोस्। अनुशासित र मर्यादित तरिकाले परीक्षा सञ्चालन गरिएको छ।”
शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको क्षमता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको यस परीक्षाले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।


