चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा

चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा

मनोज शाह जितपुर बारा माघ २१ गते
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरीको घोर गैरजिम्मेवारी सार्वजनिक भएको छ। गएराति करिब १०:३० बजे, जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्ने बलगंगा खोलाको छेउमा नगर प्रहरीको गाडी दुर्घटनामा परेको हो।
स्थानीय स्रोतका अनुसार गाडीका लागि आधिकारिक चालक नहुँदा पनि नगर प्रहरीका सई रविन कुमार खड्काले आफैं गाडी चलाएका थिए। मोडमा पुगेपछि गाडीको नियन्त्रण गुम्दा नगर प्रहरीको गाडी आफैं पल्टिएको बताइएको छ।
दुर्घटनामा
कृपा अधिकारीको हातमा चोट,
रिपु चौधरीको घुँडा र डाँडामा चोट,
श्यामकुमार थपलियाको छातीमा चोट लागेको थियो।
घाइते तीनै जनाको जितपुर सिम्रा नगर अस्पतालमा उपचार गरिएको थियो। अस्पतालका चिकित्सक डा. नवनित रौन्यारका अनुसार, “हात, घुँडा र छातीमा चोट लागेको भए पनि अवस्था सामान्य थियो।” उपचारपछि तीनै जना घर फर्किसकेका छन्।
तर स्थानीयवासीहरूले यस घटनालाई नगर प्रहरीको घोर लापराही र गैरजिम्मेवारी भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। “चालक नभएको अवस्थामा चालक बोलाउनुपर्ने थियो, तर सईले आफैं गाडी चलाएर तीन जनाको ज्यान जोखिममा पारियो,” स्थानीयको आरोप छ।