कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट
मनोज शाह जितपुर बारा माघ १७ गते:
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–९ स्थित कोइनुर टेक्सटाइल उद्योग स्थानीयका लागि रोजगारी होइन, रोगको कारखाना बन्दै गएको छ। उद्योगमा उत्पादन हुने कपडाको डाइङ प्रक्रियाबाट निस्किने बोइलरको धुवाँ र छाइले वरिपरिका किसान, बालबालिका र वृद्धसम्मलाई स्वास्थ्य संकटमा पारेको स्थानीयको गम्भीर आरोप छ।
स्थानीय युवा विजय चौधरीले धुवाँ–छाइका कारण छाती पोल्ने, आँखा दुख्ने र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको बताए। “हामी चुप लागेर मर्न तयार छैनौं,” भन्दै स्थानीयले आक्रोश पोखेका छन्।
आज उद्योगसँग भएको छलफलपछि पनि तत्काल प्रभावकारी व्यवस्थापन नभए सडकदेखि उद्योग गेटसम्म आन्दोलन चर्किने चेतावनी पहलाद चौधरीले दिएका छन्।
यता उद्योगका प्रतिनिधि कन्हैया यादवले “छिट्टै व्यवस्थापन गर्छौं” भन्ने आश्वासन दिएका छन्। तर आश्वासन मात्रै, समाधान कहिले? भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
स्थानीयको माग स्पष्ट छ—धुवाँ–छाइ नियन्त्रण, स्वास्थ्य सुरक्षा र तत्काल अनुगमन। नत्र जनआक्रोशले उद्योग थर्किने निश्चित देखिन्छ


