हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाह

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाह
मनोज शाह जितपुर बारा माघ १६ गते
बारा जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहले अहिलेको राजनीतिक अवस्था संघर्षको मोर्चा जस्तै रहेको बताउँदै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। उनले भनिन्, “अहिले हामी युद्ध मोर्चामा छौँ। हामी सबै गोलबन्द भएर लाग्नुपर्छ। कुनै पार्टीको, कुनै व्यक्तिको तागत छैन हामीलाई हराउन।”
उम्मेदवार शाहका अनुसार नेकपा एमालेको संगठन टोल–टोल, गाउँ–गाउँ र सहर–सहरसम्म मजबुत रूपमा फैलिएको छ। “संगठन हाम्रोमा छ, त्यो व्यवस्थित छ। अरु पार्टीहरूमा यस्तो संगठन छैन, सानातिना पार्टी मात्रै छन्। ठूलो कुरा गरेर नाक फुलाउँदै छन्,” उनले भनिन्।
आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामहरू जनताले प्रत्यक्ष देख्न र महसुस गर्न सक्ने बताउँदै शाहले सडक कालोपत्रे, विद्यालय निर्माण, स्वास्थ्य चौकी स्थापना र कृषि हाटबजारको विकास गरिएको उल्लेख गरिन्। विशेषगरी कृषकको हितलाई प्राथमिकतामा राखेर खेत–खेतमा बोरिङ जडान गरिएको भन्दै उनले डुबरवाना बजार र फतेपुर बजार त्यसका उदाहरण भएको बताइन्।
“मैले जति सकेँ, गरेँ। अहिले पनि गर्न तयार छु,” शाहले भनिन्। उनले विकास, संगठन र एकताको बलमा आगामी निर्वाचनमा आफूहरू विजयी हुने दाबी गर्दै जनताको साथ र विश्वास निरन्तर चाहिने उल्लेख गरिन्।