देशभरिका दलित एक हौँ’ नारासहित मुक्ति समाजको विस्तारित बैठक सम्पन्न
मनोज शाह जितपुर बारा माघ १५ गते।
देशभरिका दलित एक हौँ भन्ने नारासहित मुक्ति समाज नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ मा आज विस्तारित बैठक सम्पन्न भएको छ। बैठकमा दलित समुदायको एकता, अधिकार र राजनीतिक सशक्तिकरणका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा मधेस प्रदेशका पूर्व सदस्य सुन्दर विश्वकर्माले बारा जिल्ला क्षेत्र नम्बर ४ का दलित समुदायलाई अगाडि बढाउन शिक्षामा जोड दिनु पर्ने आवश्यकता औँल्याउँदै क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठलाई जिताउन आग्रह गर्नुभयो। उहाँले दलित समुदायको हकहितका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी बारा जिल्ला क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठले दलित समुदायसहित सबै जातजाति र समुदायका बीचमा रहेर आफूले निरन्तर काम गर्दै आएको बताउनुभयो। स्थानीय सरकारदेखि प्रदेश सरकार र केन्द्रीय सरकारसम्म दलित, मुस्लिम तथा विभिन्न पीडित समुदायका आवाज आफूले उठाउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा पनि गाउँ–गाउँ र टोल–टोलमा पुगेर जनतासँगै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलित समुदायलाई साथ र सहयोगका लागि आग्रह गर्नुभयो।


