बारा–४ मा उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा
मनोज शाह जितपुर बारा माघ ११ गते
बारा जिल्ला क्षेत्र नम्बर बाट प्रतिनिधिसभा निर्वाचनका लागि सात जनाको उम्मेदवारी परेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ र वैकल्पिक शक्तिसम्मको सहभागिताले यस क्षेत्रको चुनावी माहोल थप रोचक बनेको छ।
नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता, नेकपा एमालेबाट पूर्व मन्त्री किसान श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीबाट अजय कुशवाहा, नेमा (नेपाल पार्टी) बाट सन्जु शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी छापका रबर अन्सारी, आम जनता पार्टीबाट उमेश कुशवाहा र समुन्नत नेपाल पार्टीबाट सर्वेन्द्र खनाल चुनावी मैदानमा उत्रिएका छन्।
पूर्व मन्त्री किसान श्रेष्ठ यसअघि पनि बारा क्षेत्र नम्बर ४ बाट विजयी भइसकेका अनुभवी उम्मेदवार हुन्। पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिएपछि एमाले समर्थकहरू उत्साहित देखिएका छन्। उता, नेपाली कांग्रेसका श्यामबाबु गुप्ता भने पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रबर अन्सारी यसअघि मधेस प्रदेशसभा सदस्यका रूपमा पर्सा जिल्लाबाट निर्वाचित भएका थिए। यसपटक भने पर्सा छोडेर बारा जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्, जसले क्षेत्रीय राजनीतिक चर्चा थप बढाएको छ।
हाल बारा–४ मा विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। अनुभवी र नयाँ उम्मेदवारबीचको यो भिडन्तले अन्तिम नतिजा कसको पक्षमा जाने हो भन्ने चासो स्थानीयस्तरमा बढ्दै गएको छ।


