राजमार्गमा अवैध कर असुली र क्यासिनो सञ्चालनविरुद्ध Genz Youth द्वारा सिडिओलाई ज्ञापनपत्र
मनोज साह जितपुर बारा पुस २५ गते
राजमार्गमा भइरहेको अवैध कर असुली तथा होटलहरूमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका क्यासिनोको विरोधमा Genz Youth (जेन्ज युथ) ले बारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
जेन्ज युथ जितपुर सिम्रा उपमहानगरपालिका नगर कमिटीका तर्फबाट संयोजक राजबहादुरको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा राजमार्गका विभिन्न स्थानमा अवैध रूपमा करको नाममा असुली धन्दा चलिरहेको तथा केही होटलहरूमा कानुनविपरीत क्यासिनो सञ्चालन भइरहेको गम्भीर आरोप लगाइएको छ।
विशेषगरी जितपुर सिम्रा क्षेत्रका होटलहरू, विशेषतः इच्छा होटल मा अवैध रूपमा क्यासिनो सञ्चालन भइरहेको भन्दै त्यसले युवाहरूलाई गलत दिशातर्फ धकेलिरहेको र समाजमा नकारात्मक प्रभाव परिरहेको जेन्ज युथको भनाइ छ। साथै, राजमार्गमा सवारीसाधन तथा व्यवसायीहरूसँग जबर्जस्ती असुली गरिँदा सर्वसाधारण मर्कामा परेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै संयोजक राजबहादुरले अवैध क्यासिनो र कर असुलीको धन्दा तत्काल रोक्न प्रशासनसँग कडा कदम चाल्न माग गरे। उनले कानुनको पालना गराउँदै शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।
जिल्ला प्रशासन कार्यालयले ज्ञापनपत्र ग्रहण गर्दै विषयवस्तु गम्भीर रहेको बताएको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने आश्वासन दिएको जनाइएको छ।


