नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा।
स्पर्श खबर जितपुर बारा पुस २१ गते:
नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा
नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यतर्फ ७ जना उम्मेदवार सिफारिस गरेको छ। सिफारिस सूचीको पहिलो नम्बरमा जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १४ का स्थानीय बासिन्दा हिमालचन्द्र खरेल रहेका छन्।
वि.सं. २०३९/११/११ मा जन्मिएका खरेलले एसएलसी उत्तीर्ण गरेलगत्तै कम्युनिस्ट पार्टीको आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन्। युवावस्थादेखि नै पार्टीका विभिन्न गतिविधिमा अग्रपङ्तिमा रहेर काम गरेका खरेलले विभिन्न संघ–संस्थामार्फत सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
पार्टी स्रोतका अनुसार क्षेत्र नम्बर ३ का लागि सिफारिस भएका उम्मेदवारहरूको क्रम यस प्रकार रहेको छः
पहिलोमा हिमालचन्द्र खरेल, दोस्रोमा भारत शाह, तेस्रोमा श्रीप्रसाद पैसवान, चौथोमा नन्दलाल ठाकुर, पाँचौँमा लक्ष्मी यादव, तथा महिलातर्फ मुन्नी तामाङ सहित जम्मा ७ जनाको नाम सिफारिस गरिएको हो।
पार्टीभित्र लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र आन्दोलनमा सक्रिय रहँदै आएका खरेलको नाम पहिलो नम्बरमा सिफारिस हुनु क्षेत्र नम्बर ३ को राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। पार्टी नेतृत्वले आगामी निर्वाचनमा सशक्त उम्मेदवार अघि सार्ने रणनीतिअनुसार सिफारिस प्रक्रिया अघि बढाएको जनाएको छ।


