स्पर्श खबर जितपुर बारा पुस २० गते:
वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन
वीरगन्जको विभिन्न ठाँउमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन् । धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
त्यसैको विरोधमा वीरगन्जमा मुस्लिम समुदायले घण्टाघर,मुर्ली,छपकैयाको इद्यगहा चोक लगायतका स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका छन् ।
त्यसक्रममा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ । प्रदर्शन उग्र बन्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गरेको थियो । त्यसक्रममा एकजना प्रहरी सामान्य घाइते भएका छन् ।


