बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको माग

बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो” ,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको माग
स्पर्श खबर जितपुर बारा पुस २० गते:
बारा जिल्ला क्षेत्र नम्बर ४ मा अहिलेसम्म सर्वसाधारणका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसरका लागि कुनै पनि गाउँपालिका वा नगरपालिकामा न क्याम्पस छ, न कलेज। प्लस टु भन्दा माथि पढ्न चाहने विद्यार्थीहरू एमबिए, एमसीए, एमएजस्ता विषय अध्ययन गर्न बाध्य भएर काठमाडौँ लगायतका ठूला शहरमा जानुपर्ने अवस्था छ।
तर काठमाडौँमा महँगो कोठा भाडा, खानपान र अन्य खर्च बेहोर्न मधेसका अधिकांश किसान तथा श्रमिक परिवारका छोराछोरीको हैसियत नपुग्ने स्थानीयहरूको गुनासो छ। यही कारण प्लस टु पूरा गरेपछि धेरै युवाहरू पढाइ छाडेर गल्फ मुलुक लगायत विदेशमा मजदुरी गर्न जान बाध्य भएको स्थानीय बताउँछन्।
परवानीपुर स्थानीय युवा दीपक शाहले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरूलाई स्पष्ट प्रश्न उठाउँदै भने,
“चुनावको बेला सबै उम्मेदवार विकास, शिक्षा र समृद्धिका कुरा गर्नुहुन्छ। तर बारा–४ मा अहिलेसम्म एउटा पनि क्याम्पस स्थापना हुन सकेको छैन। यो केवल मेरो मात्र होइन, यहाँका हरेक आमाबुवा र युवाको साझा माग हो।”
उनका अनुसार बारा–४ का प्रत्येक व्यक्तिको चाहना आफ्नै क्षेत्रमा गुणस्तरीय क्याम्पस स्थापना हुनु हो, जसले गर्दा किसान, मजदुर र गरिब परिवारका छोराछोरीले पनि उच्च शिक्षा हासिल गर्न सकून् र विदेश पलायन हुनुपर्ने बाध्यता हटोस्।
स्थानीय बासिन्दाहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई प्रश्न गर्दै भनेका छन्—
“उम्मेदवारी दिँदै गर्दा शिक्षा क्षेत्रमा ठोस योजना र प्रतिबद्धता जनाउनुहुन्छ? जितेपछि बारा–४ मा क्याम्पस स्थापना गर्ने वाचा पूरा गर्न सक्नुहुन्छ?”
चुनावी माहोल तातेसँगै बारा क्षेत्र नम्बर ४ का जनताले यस पटक नाराभन्दा व्यवहारिक र लिखित वाचासहित शिक्षा क्षेत्रमा दीर्घकालीन समाधान खोज्न उम्मेदवारहरूलाई दबाब दिन थालेका छन्। अब प्रश्न उस्तै छ— बारा–४ का युवाको यो आधारभूत माग पूरा गर्ने साहस र इच्छाशक्ति कुन उम्मेदवारसँग छ?