नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार

नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार

स्पर्श खबर जितपुर बारा पुस १९ गते:
नेकपा एमाले बारा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस प्रक्रियामा विवाद उत्पन्न भएको छ। क्षेत्र नम्बर ३ को सामान्य कमिटी बैठक पार्टी केन्द्रीय सदस्य ज्वाला शाह समूहले बहिष्कार गरेपछि आन्तरिक असन्तुष्टि सतहमा आएको हो।
यता केन्द्रीय सदस्य ज्वाला शाहसँग कुराकानी गर्दा उहाँले उम्मेदवार सिफारिस प्रक्रियाप्रति आपत्ति जनाउँदै भन्नुभयो, “निर्वाचनको पद्धति, नियम र प्रक्रिया सबै हुन्छन्। यदि त्यसैअनुसार गर्नुपर्ने हो भने समय मिलाएर, तोकेर अगाडि बढ्दा राम्रो हुन्छ। त्यस्तो प्रक्रिया नअपनाइएकाले म पार्टी कार्यालयबाट निस्केको हुँ।”
त्यसैगरी पार्टी नेतृ सीता सुवेदीले पनि सिफारिस प्रक्रियामा असहमति जनाउँदै भनिन्, “निर्वाचनको स्पष्ट नियम र पद्धति हुन्छ। ती केही पनि नअपनाई जबरजस्ती गरिएको छ। यस्तो निर्णय हामीले मान्ने छैनौँ।”
यस विषयमा थप प्रष्ट्याउन नेकपा एमाले बारा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक अनिल मैनालीसँग फोनमार्फत सम्पर्क गर्न खोज्दा उहाँले फोन नउठाउनु भएको कारण जानकारी प्राप्त हुन सकेन।
क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसलाई लिएर देखिएको यो विवादले आगामी दिनमा पार्टीको आन्तरिक एकता र चुनावी तयारीमा असर पार्ने हो कि भन्ने चिन्ता कार्यकर्तामाझ देखिन थालेको छ।