रिलायन्स सुगर मिलविरुद्ध कडा चेतावनी : बंगरी नदीमा फोहर पानी मिसाएर गम्भीर प्रदूषण, आन्दोलनको चेतावनी
स्पर्श खबर जितपुर बारा पुस १९ गते:
बारा जिल्लाको श्रीपुर स्थित रिलायन्स सुगर मिलबाट निस्किएको फोहर पानीले ब्राहृमपूरी, बन्जरिया, बेलहिया, गोइँठहि, भलुहि, मंगढवा र अकवनिया हुँदै त्रिवेणीको दुधौरा नदीमा मिसिने बंगरी नदी गम्भीर रूपमा प्रदूषित बनेको छ। लामो समयदेखि मिलबाट निस्कने प्रदूषित पानी सिधै नदीमा मिसिँदै आएपछि नदीको प्राकृतिक स्वरूप नष्ट हुँदै गएको स्थानीयवासी र्याज अन्सारीले बताएका छन्।
स्थानीयका अनुसार प्रदूषित पानीका कारण मानव स्वास्थ्यमा जोखिम बढ्नुका साथै पशुपालन, सिँचाइ र वातावरणमा प्रत्यक्ष असर परेको छ। यस गम्भीर समस्याबारे मिलका सञ्चालक तथा सम्बन्धित सरकारी निकायलाई पटक–पटक जानकारी गराइँदा समेत कुनै ठोस पहल नहुनु झनै बिडम्बनाको विषय बनेको छ।
प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डको खुलेआम उल्लङ्घन गर्दै फोहर पानी नदीमा मिसाइँदा स्थानीयवासीको दैनिकी जीवननै प्रभावित भएको गुनासो छ। यदि यथाशीघ्र चिनी मिलबाट निस्कने प्रदूषित पानी रोक्न प्रभावकारी व्यवस्था नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
यसैबीच, युवा नेता उमेश दुबेले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा चेतावनी दिँदै सम्बन्धित निकायको मौनताप्रति आक्रोश व्यक्त गरेका छन्। उनले तत्काल प्रदूषण पानी रोक्न नसके जनस्तरबाट कडा संघर्ष हुने स्पष्ट संकेत गरेका छन्।
उक्त गम्भीर वातावरणीय समस्याप्रति जिल्ला प्रशासन कार्यालय बारा लगायत सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। स्थानीयवासीले नदी संरक्षण र स्वच्छ वातावरणका लागि ढिलाइ नगरी जिम्मेवारीपूर्वक कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन्।


