पत्रकार राजु चौरसियामाथि भएको कुटपिट घटनाको घोर निन्दा : नेपाल पत्रकार महासङ्घ बारा
स्पर्श खबर जितपुर बारा पुस १७ गते
। पत्रकार राजु चौरसियामाथि बिहीबार बिहान भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासङ्घ बारा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ। जिल्लाको देवताल गाउँपालिका वडा नं. २ गमरियास्थित सार्वजनिक जग्गामा अवैधानिक रूपमा रुख कटान गरिएको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार चौरसियामाथि रुख कटानमा संलग्न समूहले कुटपिट गरेको घटनाले महासङ्घलाई गम्भीर बनाएको जनाएको छ।
महासङ्घका अनुसार कुटपिटबाट पत्रकार चौरसियाको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ भने उनको साथमा रहेको करिब १ लाख रुपैयाँभन्दा बढी मूल्यको क्यामेरा समेत हराएको छ। यस प्रकारको आपराधिक कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको भन्दै महासङ्घले घटनाको घोर निन्दा तथा भत्सर्ना गरेको छ।
नेपाल पत्रकार महासङ्घ बारा शाखाले घटनामा संलग्न समूह तथा व्यक्तिहरूको पहिचान गरी तत्काल पक्राउ गर्न, कडा कानुनी कारबाही गर्न र पीडित पत्रकारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ।
समाचार संकलन गर्न गएका पत्रकारलाई दिनदहाडै कुटपिट गर्नु सामान्य विषय नभएको उल्लेख गर्दै महासङ्घले स्वतन्त्र, सुरक्षित र भयमुक्त वातावरणमा पत्रकारले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्न पाउने अवस्था निर्माण गर्न सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।
नेपाल पत्रकार महासङ्घ बारा शाखाका सचिव पुष्पराज खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको सुरक्षाका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिइएको छ।


