मनोज साह जितपुर बारा पुस १५ गते:
जेन्जी आन्दोलनको मर्मलाई सम्मान गर्दै नेपाली कांग्रेसको ऐतिहासिक निर्णय
नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको बन्द सूचीमा मधेसी महिला क्लस्टरबाट बाराकी छोरी, अत्यन्तै जुझारु, निडर समाजसेवी तथा विगत १२ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी युवा नेतृ प्रियंका दासलाई छनोट गरेको छ।
यो निर्णयलाई जेन्जी आन्दोलनको मर्मअनुसार युवाको सहभागिता, महिलाको प्रतिनिधित्व र मधेसी समुदायको आवाजलाई संस्थागत गर्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ। पत्रकारिताबाट सामाजिक मुद्दा उठाउँदै राजनीतिसम्मको यात्रामा प्रवेश गरेकी प्रियंका दासले लामो समयदेखि सुशासन, सामाजिक न्याय, महिला अधिकार र समावेशीताका विषयमा निरन्तर कलम चलाउँदै आएकी छिन्।
नेपाली कांग्रेसको समानुपातिक सूचीमा बारा जिल्लाबाट प्रतिनिधिसभाका लागि एक मात्र महिला प्रतिनिधिका रूपमा प्रियंका दास चयन हुनु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले बारा जिल्लामा महिलाको राजनीतिक सहभागितालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रियंका दास पत्रकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन्। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपन्न समुदायको पक्षमा उनले गरेका योगदानहरू स्थानीयस्तरमै प्रशंसनीय मानिन्छन्। उनको छनोटले पत्रकारिताबाट राजनीति सम्मको सकारात्मक यात्रालाई सम्मान गर्दै नयाँ पुस्ताका युवाहरूलाई राजनीतिमा सक्रिय हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको यो निर्णयले महिलाको सहभागिता, मधेसी पहिचान र युवाको आवाजलाई राष्ट्रिय राजनीतिमा थप मजबुत बनाउने विश्वास पार्टी पंक्तिले व्यक्त गरेको छ।


