संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव

संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव

मनोज साह जितपुर बारा पुस १५ गते:
परवानीपुर गाउँपालिका वडा नं. ३ निवासी शारदा यादव एक संघर्षशील मधेशी महिला नेतृका रूपमा राजनीतिक यात्रामा सक्रिय रहँदै आएकी छिन्।

स्वर्गीय सन्तोष यादवकी धर्मपत्नी शारदा यादवले आफ्ना श्रीमान् जास्पा नेपाल पार्टीमा सक्रिय राजनीतिज्ञ रहँदा देखाएको त्याग, संघर्ष र विचारलाई आत्मसात् गर्दै आफैँ राजनीतिमा निरन्तरता दिँदै आएकी हुन्।


श्रीमान् सन्तोष यादवको निधनपछि पारिवारिक, आर्थिक र सामाजिक चुनौतीका बाबजुद पनि शारदा यादव विचलित नभई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर रहन सफल भएकी छिन्। हाल उहाँ समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहँदै संगठन निर्माण, विद्यार्थी अधिकार र सामाजिक न्यायका पक्षमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन्।


शिक्षाका हिसाबले स्नातक तहसम्म अध्ययन पूरा गरेकी शारदा यादव आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि हिम्मत नहारेर राजनीति र समाजसेवामा जुटिरहेकी छिन्। विभिन्न संघ–संस्थामार्फत राहत, सहयोग र सामाजिक चेतनाका कार्यक्रमहरूमा संलग्न रहँदै उहाँले समाजसेवाको क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउँदै जानुभएको छ।
मधेशकी महिला नेतृका रूपमा शारदा यादवको संघर्षपूर्ण राजनीतिक यात्रा धेरैका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। सीमित स्रोत, कठिन परिस्थिति र सामाजिक अवरोधलाई चिर्दै अगाडि बढिरहेकी शारदा यादवले आगामी दिनमा अझ सशक्त भूमिकामा देखिने अपेक्षा गरिएको छ।