जितपुरका व्यवसायी आपसी द्वन्द्वमा फस्दा उद्योग वाणिज्य संघ मौन, पूर्व महासचिव शिवजी शाहको कडा
मनोज साह जितपुर बारा पुस १५ गते:
जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठ्दै गएको छ। जितपुरका व्यवसायीहरू आपसी विरोध र द्वन्द्वको भुमरीमा फसिरहेका बेला संघका जिम्मेवार पदाधिकारीहरू मौन बसेको भन्दै संघका पूर्व महासचिव शिवजी शाहले कडा प्रतिक्रिया जनाउनुभएको छ।
शाहले आफ्नो फेसबुकमार्फत सार्वजनिक रूपमा लेख्दै व्यवसायीबीच बढ्दो विवाद समाधान गर्नु उद्योग वाणिज्य संघको कर्तव्य भएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “जितपुरका व्यवसायीहरू आपसी विरोध र द्वन्द्वको भुमरीमा फसिरहेका छन्। तर तपाईँहरू चुप लागेर बस्नुभएको छ। के यो समस्या समाधान गर्नु तपाईँहरूको कर्तव्य होइन ?”
उहाँले समयमै पहल नगरे व्यवसायीहरू राजनीतिक भुमरीमा फसिसकेपछि संघले केही गर्न नसक्ने चेतावनी पनि दिनुभएको छ। “जब यी सबै राजनीतिक भुमरीमा फसिसकेपछि तपाईँहरूले केही गर्न सक्नुहुन्न,” भन्दै शाहले समस्या समाधान गर्न तत्काल सक्रिय हुन संघका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ।
पूर्व महासचिव शाहले स्पष्ट शब्दमा विकल्प पनि अघि सार्दै भन्नुभएको छ, “कि त समस्याको समाधान गर्नुहोस्, होइन भने राजीनामा दिएर गर्न सक्ने व्यक्तिलाई बाटो प्रशस्त गरिदिनुस्।”
उहाँको यो अभिव्यक्तिपछि जितपुर सिमरा नगर उद्योग वाणिज्य संघको भूमिकालाई लिएर व्यवसायी वृत्तमा थप बहस र चासो बढेको छ।


