SEE तथा +2 प्रमाणपत्रमा भएको त्रुटि सच्याउने सेवा विकेन्द्रीकरणको माग
स्पर्श खबर जितपुर बारा पुष ६ गते
बारा जिल्लाका जिन्जी युवाहरूले SEE तथा +2 शैक्षिक प्रमाणपत्रमा देखिने नाम, जन्ममिति, विषय लगायतका सामान्य त्रुटि सच्याउने सेवा विकेन्द्रीकरण गर्न सरकारसँग माग गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाइएको निवेदनमा युवाहरूले हाल काठमाडौँ केन्द्रित प्रणालीका कारण विद्यार्थीहरू अनावश्यक आर्थिक भार, समयको बर्बादी तथा मानसिक तनाव झेल्न बाध्य भएको उल्लेख गरेका छन्। डिजिटल प्रणाली भए पनि सेवा अझै केन्द्रमै सीमित हुँदा ग्रामीण तथा मधेस क्षेत्रका विद्यार्थीहरू बढी प्रभावित भएको उनीहरूको भनाइ छ।
पत्रमा त्रुटि सच्याउने प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न, जिल्ला वा प्रदेश स्तरमै सेवा उपलब्ध गराउन तथा सम्पूर्ण प्रक्रिया सरल, छरितो र विद्यार्थीमैत्री बनाउन माग गरिएको छ।
जिन्जी युवाहरूले विद्यार्थीहरूको सहजता, समय र आर्थिक बचतलाई ध्यानमा राख्दै सरकारलाई यथाशीघ्र निर्णय लिन आग्रह गरेका छन्। बारा जिल्लाका जेन्जी अध्यक्ष सम्राट उपाध्य र जितपुर सिम्रा नगर कमिटी अध्यक्ष राजबहादुर थापा लगायत उपस्थित रहेको थियो।


