नेकपा एमालेको एघारौँ महाअधिवेशनमा ज्वालाकुमारी शाहको शानदार जित, सबैभन्दा बढी २०४४ मत प्राप्त
मनोज साह जितपुर बारा पुस ३ गते:
नेकपा एमाले पार्टीको एघारौँ महाअधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा मधेसकी चर्चित महिला नेत्री ज्वालाकुमारी शाहले ऐतिहासिक जित हासिल गर्नुभएको छ। कुल २२२७ प्रतिनिधि मतदाता मध्ये उहाँले २०४४ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याउने उम्मेदवारका रूपमा विजयी हुनुभएको हो।
पार्टी संगठन निर्माण, महिला सशक्तीकरण तथा मधेसका मुद्दालाई निरन्तर उठाउँदै आउनुभएकी शाहको यो जितलाई एमालेभित्र मधेस र महिलाको बढ्दो भूमिका तथा विश्वासको प्रतीकका रूपमा हेरिएको छ। महाअधिवेशनमा सहभागी प्रतिनिधिहरूले उहाँको स्पष्ट दृष्टिकोण, संघर्षशील नेतृत्व र संगठनप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै भारी मतका साथ समर्थन जनाएका हुन्।
जितपछि प्रतिक्रिया दिँदै ज्वालाकुमारी शाहले पार्टी नेतृत्व, सम्पूर्ण प्रतिनिधि तथा समर्थकप्रति आभार व्यक्त गर्दै एमालेको नीति, सिद्धान्त र संगठन मजबुत बनाउन अझ सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मधेसका जनताको हकहित, महिला अधिकार र समावेशी राजनीतिका लागि निरन्तर संघर्ष गर्ने बताउनुभयो।


