सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य
मनाेज शाह जितपुर बारा पुस ३ गते : सिमरा विमानस्थलमा एक महिलालाई बिल देखाएपछि छोडिएको भनिएको घटनाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ। घटनाबारे विभिन्न तहका प्रहरी अधिकारीहरूले फरक–फरक र विरोधाभासी प्रतिक्रिया दिएपछि वास्तविकता झन् अन्योलमा परेको छ।
सिमरा विमानस्थलमा कार्यरत प्रहरी प्रमुख कृष्ण ठाकुरले बिल हेराएपछि महिलालाई छोडिएको स्वीकार गर्दै भने, “बिल देखाएपछि हामीले महिलालाई छोडिदियौँ।” तर महिलाको नाम सार्वजनिक गर्न आग्रह गर्दा उनले “बाराका एसपी वा डीएसपीसँग सोध्नुस्” भन्दै पन्छिए।
यता सिमरा विमानस्थलका हाकिम विष्णु अधिकारीसँग बुझ्दा उनले आफूलाई घटनाबारे कुनै जानकारी नभएको बताउँदै “प्रहरीसँग सोध्नुस्” भन्ने प्रतिक्रिया दिए।
इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दिवाकर कडेलले भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै “त्यस्तो घटना भएको भए हामी मुचुल्का उठाउन गइहाल्थ्यौँ” भने।
यसैबीच बारा जिल्लाका प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरले महिलालाई छोडिएको पुष्टि गर्दै “बिल लिएर आउँछ, हेर्छौँ, चेकजाँच गर्छौँ” भने। तर महिलाको नाम सोध्दा उनले पनि “सिम्राका इन्सपेक्टरसँग सोध्नुस्” भन्दै जवाफ दिए। साथै उनले डीआइजीको उपस्थितिमा बैठक चलिरहेको कारण विस्तृत प्रतिक्रिया दिन नसकिएको बताए।
एकै घटनामा प्रहरीका विभिन्न जिम्मेवार अधिकारीबाट आएका फरक–फरक बयानले घटनाको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। महिलाको पहिचान किन गोप्य राखियो, चेकजाँचको प्रक्रिया के थियो र कानुनी मापदण्ड पूरा गरियो कि गरिएन भन्ने विषयमा स्पष्ट जवाफ नआएसम्म प्रहरी प्रशासनप्रति आमजनमानसको विश्वास कमजोर बन्ने देखिन्छ।


