फर्मुला मनसुरको पहलमा जितपुर विकासबारे बृहत छलफल
मनोज साह जितपुर बारा पुस ४ गते:
पूर्वमन्त्री फर्मुला मनसुरको अगुवाइमा जितपुर क्षेत्रको विकास किन अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्ने विषयमा बृहत छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा जितपुरको समग्र विकासमा देखिएका अवरोध, चुनौती र समाधानका उपायबारे गहन रूपमा विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा स्थानीय समाजसेवी राजेश्वर गिरी, युवा नेता शेखर भण्डारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जितपुरको विकास पछाडि पर्नुको मुख्य कारण राजनीतिक असमझदारी, समन्वयको कमी, दीर्घकालीन योजनाको अभाव र स्थानीय सरोकारवालाबीच एकताको कमी रहेको निष्कर्ष निकाले।
पूर्वमन्त्री फर्मुला मनसुरले जितपुरको विकास अब कुनै एक व्यक्ति वा दलको विषय नभई साझा एजेन्डा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विकासका लागि सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, समाजसेवी र नागरिक समाज एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना तयार गर्नुपर्ने सुझाव दिएका थिए। साथै, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय गरी जितपुरलाई समृद्धिको मार्गमा लैजान सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सहभागीहरूको जोड रहेको थियो।
छलफल कार्यक्रमले जितपुरको विकासका लागि साझा दृष्टिकोण र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।


