जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी

स्पर्श खबर जितपुर बारा पुस २ गते: सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि नि:शुल्क पठाउने तयारी गरेको छ। प्रभावित परिवारको जीविकोपार्जन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको हो।

सरकारका अनुसार वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि पासपोर्ट, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण तथा टिकटलगायतका आवश्यक प्रक्रिया निःशुल्क गराइनेछ। यसबाट आन्दोलनका कारण आर्थिक रूपमा प्रभावित परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी देशमै रोजगारी गर्न चाहने व्यक्तिहरूका लागि सिपमूलक तथा व्यावसायिक तालिमको व्यवस्था गरिने सरकारको योजना छ। तालिममार्फत युवालाई आत्मनिर्भर बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

सरकारको यो कदमलाई सामाजिक न्याय र पुनःस्थापनातर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।