फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता :विकासमा हामी अगाडि बढ्छौं

फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता : “विकासमा हामी अगाडि बढ्छौं”

मनोज साह जितपुर बारा पुस २ गते: बाराको फेटा गाउँपालिकामा पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले स्थानीय भद्रभलादमी तथा जनसमुदायसँग प्रत्यक्ष भेटघाट गर्दै विकासप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटघाटका क्रममा उहाँले आफ्नो क्षेत्रमा रहेका कुनै पनि विकासका काममा पछि नहटी अगाडि बढेर काम गरिने बताउनुभयो।

पूर्व मुख्यमन्त्री सोनलले स्थानीयको आवश्यकता र समस्या नजिकबाट बुझ्दै विकास योजनाहरू प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्नुभयो। “गाउँ–गाउँ, टोल–टोल पुगेर विकासको अवस्था बुझ्नु र आवश्यक सुधार गर्नु हाम्रो दायित्व हो,” उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरू पूर्व मुख्यमन्त्रीको सक्रियता र पहुँचप्रति निकै खुसी देखिएका थिए। उनीहरूले नेतृत्वले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकासको अनुगमन गर्नु सकारात्मक संकेत भएको प्रतिक्रिया दिए।

यस अवसरमा उपेन्द्र शाहले यस्ता नेताहरू कमै पाइने उल्लेख गर्दै भन्नुभयो, “आफ्नो गाउँ, सहर र टोल–टोलमा पुगेर विकासको निरीक्षण गर्दै जनताको कुरा सुन्ने नेतृत्व आजको आवश्यकता हो। जितेन्द्र सोनलज्यूको यो पहल अत्यन्त राम्रो र प्रशंसनीय छ।”

स्थानीय तहमा जनप्रतिनिधि र पूर्व नेतृत्वबीचको यस्तो प्रत्यक्ष संवादले विकासलाई अझ प्रभावकारी बनाउने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।